(१) इजाजतपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सो मितिले पाँच आर्थिक वर्षको अन्त्यसम्म बहाल रहनेछ ।
(२) इजाजतपत्र नवीकरण गर्न चाहने इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा पैतींस दिन अगावै देहायका कुराहरू खुलाइ पाँचसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी इजाजतपत्र नवीकरणको लागि कार्यालयमा निवेदन दिनु पर्नेछ :–
(क) निजले पाँच वर्षसम्म गरेको कार्यको संक्षिप्त विवरण,
(ख) निज वा निज सदस्य भएको पेशागत संस्थाबाट पेश भएको आय विवरण दाखिला भएको प्रमाण,
(ग) निज सदस्य भएको पेशागत संस्थाको सदस्यता नवीकरण भएको प्रमाणपत्र ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकको माग बमोजिम इजाजतपत्र नवीकरण गर्न मनासिव देखेमा कार्यालयले पाँचहजार रुपैयाँ नवीकरण दस्तुर लिई इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिमको म्याद नाघेको साठी दिनभित्र कुनै इजाजतपत्र प्राप्त व्यक्तिले दश हजार रुपैयाँ इजाजतपत्र नवीकरण विलम्ब दस्तुर संलग्न गरी इजाजतपत्र नवीकरणको लागि निवेदन दिएमा कार्यालयले त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिमको म्यादभित्र पनि इजाजतपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ ।